जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालू खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा अर्थात् ५९.८ प्रतिशत (१२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ) विनियोजन गरिएको छ। यसैगरी, विकास निर्माण र पूर्वाधारका लागि पुँजीगत खर्चतर्फ २०.३ प्रतिशत (४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ) र वित्तीय व्यवस्थापनका लागि १९.९ प्रतिशत (४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ) बजेट छुट्ट्याइएको छ।
उक्त बजेटको खर्च बेहोर्ने स्रोततर्फ सरकारले राजस्व संकलनबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बाँकी अपुग स्रोतका लागि सरकारले २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ।

