जेठ १५, काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै उक्त वृद्धिको लक्ष्य तय गरिएको बताए।
यसैगरी, बजेटले आम उपभोक्तालाई राहत दिने उद्देश्यले बजारको महँगीलाई नियन्त्रणमा राख्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा उपभोक्ता मूल्य मुद्रास्फीति (महँगी)लाई ६ प्रतिशतको वाञ्छित सीमाभित्रै सीमित राख्ने लक्ष्य सरकारले लिएको छ। उत्पादन वृद्धि, आपूर्ति प्रणालीमा सुधार र विवेकपूर्ण मौद्रिक नीतिको समन्वयमार्फत आर्थिक वृद्धि र मूल्य स्थिरताको यो सन्तुलन कायम गरिने बजेटमा उल्लेख छ।

