सन् २०२३ को अक्टोबरमा ब्राजिलले दुई खेल खेल्दै थियो। दुवै खेल विश्वकप छनोटका लागि थिए। पहिलो खेलमा ब्राजिल भेनेजुएलासँग १-१ को बराबरीमा रोकियो।
अर्को खेलमा ब्राजिलले उरुग्वेको सामना गर्यो। सो खेलमा जित निकाल्ने योजना सहित नेयमार पनि मैदानमा उत्रिएका थिए। तर सो खेल ब्राजिल र नेयमार दुवैका लागि खराब रहन गयो।
किन भने सो खेलमा नेयमार नराम्रोसँग घाइते हुन पुगे र सो खेलमा ब्राजिल २-० को गोल अन्तरले पराजित भयो। नेयमार पहिलो हाफको अन्तिम समयमा घाइते भएका थिए।
उनको चोट यति गम्भीर थियो कि उनले झन्डै एक वर्ष मैदान बाहिर रहनु पर्यो। चोट मुक्त भएपछि उनी मैदान त फर्किए, तर उनी पहिला जस्तो रहेनन्। त्यसपछि पनि उनले कयौँ पटक चोटको सामना गर्नु पर्यो।
विश्वकप टोलीमा पर्ने योजना सहित ब्राजिलियन क्लब सान्तोस आवद्ध भएर उनले धेरै मेहेनत गरे। अन्ततः उनी विश्वकपको टोलीमा समावेश भए। टोलीमा परेपछि पनि उनी घाइते भए र उनले विश्वकपका दुई खेल गुमाए।
शुक्रबार बिहान भने उनले ९ सय ८१ दिन पछि ब्राजिलका लागि खेल्ने अवसर पाए। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर ब्राजिलका लागि खेल्दा उनी भावुक मात्र भएनन्, उनका आँसु पनि खसे।

