माघ २५, काठमाडौं। टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पच्छाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा १० रनको आवश्यक हुँदा खेल रोमाञ्चक मोडमा गएको थियो । तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नेपालले जित निकाल्न सकेन ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरे । तर चौथो ओभरमा आसिफ शेख आउट भए भने छैटौं ओभरमा कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा २९ रन बनाए । त्यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।
दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । उनीहरुले राम्रो साझेदारी गर्दै इंग्लयाण्डलाई दबामा राखेको थियो । तर ४४ रन बनाएर दीपेन्द्र आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरे । योसँगै उनले टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा पनि गरे । दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।
यस्तै ३४ बल खेलेका कप्तान रोहितले दुई चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए । यस्तै लोकेश बम ३९ रनमा अवजित रहे । उनले दुई छक्का र चार चौका प्रहार गरे । आरिफ शेख बने १० रन बनाएर आउट भए ।
बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए । यस्तै लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र सैम करनले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डको सुरुवात खराब रहेको थियो । दोस्रो ओभरमा फिल साल्ट आउट भए । त्यसबेला इङ्ल्यान्डको स्कोर केवल ५ रनमा मात्र थियो । त्यसपछि बटलरले राम्रो इनिङ खेले । तर उनी पनि पाँचौं ओभरमा आउट भए । बटलरले १७ बलमा २६ रन बनाए ।
इङ्ल्यान्डका ज्याकब बेथेल र ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे । ज्याकब बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान ह्यारी ब्रूकले चार चौका र तीन छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रन बनाए । त्यसक्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादव सबैभन्दा सफल बलर रहे । दीपेन्द्र र नन्दनले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

