असोज २९, काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
भेपमा लुकाएर सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका महरालाई थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।
दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको हो ।
चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार दर्ता भएको थियो ।
यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए ।

