असोज २९, काठमाडौं। नेपालले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो ।

यसअघि, नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

छनोट प्रतियोगिता अन्तर्गत ‘सुपर–६’ चरणको बुधबार भएको खेलमा यूएईले सामोआलाई ७७ रनले हराएसँगै विश्वकपमा नेपालको स्थान पक्का भएको हो । नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा पुगेको छ । ‘सुपर–६’ चरणको तालिकामा ओमान ६ अंकसहित पहिलो स्थानमा छ । समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ । नेपाली टोली नेट रन रेटमा ओमानसँग पछि परेको हो ।

नेपाल र ओमानले अब दुई–दुई खेल खेल्न बाँकी छ । यूएई चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यूएईले अब एक खेलमात्र खेल्न बाँकी छ । जापान दुई अंकसहित चौथो स्थानमा छ । जापानले अब दुई खेल खेल्न बाँकी छ ।

यसैगरी, कतार दुई अंकसहित तालिकाको पाँचौं स्थानमा छ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेको छ । हालसम्म अंक बटुल्न नसकेको सामोआ भने तालिकाको छैटौं स्थानमा छ । सामोआले अब दुई खेल खेल्न बाँकी छ ।

‘सुपर–६’ चरणको खेलको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान छ । ‘सुपर–६’ चरणमा जापान र यूएई आपसमा भिड्न बाँकी नै रहेकाले नेपाल र ओमान दुई खेलअगावै विश्वकपमा छनोट भएका हुन् ।

जापानविरुद्धको खेलमा पराजित भए यूएईको अंक चार मात्र हुनेछ । त्यो खेल अनिर्णित रुपमा सकिए यूएईको अंक पाँच पुग्नेछ । यी दुबै स्थितिमा यूएईको अंक नेपाल र ओमानको भन्दा कम हुनेछ । तर, जापानविरुद्धको खेलमा विजयी भए यूएईको अंक पनि ६ पुग्नेछ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै यूएई पनि विश्वकपमा छनोट हुनेछ ।

यसैगरी, जापानी टोली बाँकी दुवै खेलमा विजयी भए यूएई प्रतियोगिताबाट बाहिरिने छ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै जापान आगामी विश्वकपमा छनोट हुनेछ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेकाले आफ्नो अन्तिम खेलमा विजयी भए पनि कतारको अंक चारमात्र पुग्नेछ ।

यसैगरी, सामोआले अब दुई खेल खेल्न बाँकी छ । ती दुबै खेलमा विजयी भए पनि सामोआको अंक चारमात्र पुग्नेछ । यस्तो स्थितिमा सामोआले पनि नेपाल र ओमानलाई उछिन्न सक्ने अवस्था छैन ।

 

नेपाल र ओमान भिड्दै 

जारी छनोट प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण खेल पनि बुधबार राति नै खेलिँदैछ । उक्त खेलमा तालिकाको पहिलो स्थानमा आसिन ओमान र दोस्रो स्थानमा आसिन नेपाल आपसमा भिड्दै छन् ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार, राति ८:४५ बजे शुरू हुनेछ । यो खेलमा विजयी हुने टोली नै जारी छनोट प्रतियोगिताको च्याम्पियन बन्ने बलियो सम्भावना छ ।

‘सुपर–६’ चरणमा नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । ओमानले पनि आफ्नो अन्तिम खेल शुक्रबार नै जापानसँग खेल्नेछ । त्यसअघि, बिहीबार जापान र यूएई तथा कतार र सामोआबीच खेल हुनेछ ।

प्रतिक्रिया