असोज २७, काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ। सन्दिप लामिछानेले ५ विकेट लिएपछि नेपालले जित हात पारेको हो।

१४८ रनको लक्ष्य पछ्याएको कतारलाई नेपालले १४२ रनमा अल आउट गरेको हो। अन्तिम ओभरमा कतारलाई जितको लागि १० रन चाहिएको थियो। पहिलो र दोस्रो बलमा कुनै रन बनेन। तेस्रो बलमा सन्दिपले नवौं विकेट लिएपछि कतार दबाबमा आएको थियो। चौंथो बलमा १ र पाँचौं बलमा २ रन लिएपछि कतारलाई ७ रनका लागि १ बल बाँकी रह्यो।

अन्तिम बलमा छक्का प्रहार गर्दा खेल सुपर ओभरमा पुग्ने स्थितिमा सन्दिपले वाइड बल फलेता पनि कतारका मुजिव रहमान रन आउट हुन पुगे र नेपाल ५ रनले विजयी भयो।

नेपालका लागि सन्दिपले ५ विकेट लिए भने नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।

प्रतिक्रिया