भदौ २७, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्‌ । कार्कीलाई नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम राष्ट्रपति पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्‌ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रपति पौडेलले शितल निवासमा आयोजित विशेष समारोहमा शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यससँगै पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री समेत बनेकी छिन्‌ । अन्तरिम सरकारको नेतृत्व पाएकी प्रधानमन्त्री कार्कीलाई छ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ।

यही सोमबार र मंगलबार जेन जी युवाहरुको आन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार नेतृत्व बिहिन बनेको थियो। राष्ट्रपति, प्रधानसेनापति र जेन जी समूहका प्रतिनिधिहरू बीच ३ दिनसम्म चलेको गहन छलफलपछि जेन जी समूहको माग बमोजिम अन्तरिम सरकार गठन र संसद् विघटनमा शुक्रबार अपरान्ह सहमति जुटेको हो।

यसअघि संसदबाट सिफारिस भएको व्यक्तिलाई संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था थियो। तर जेन-जी अभियन्ताहरूले संसद्‌बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद्‌ विघटन गर्न राखेको मागमा सहमति भएअनुसार धारा ६१ बमोजिम राष्ट्रपतिले अन्तरिम सरकार गठन गरेका हुन्। संविधानको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री लगायत कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए।

प्रतिक्रिया