काठमाडौं, १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन जाने भएका छन्। असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आगामी शनिबार स्पेन जाने भएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए। भेटका अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने पनि बताइएको छ।
प्रधानमन्त्रीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनका उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने छन् । संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक स्पेनमा करिब ४ करोड ७४ लाख छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । नेपालीहरु धेरैजसो कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा संलग्न रहेका छन्।

