काठमाडौं, ३० जेठ । भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । बिहिबार दुर्घटना भएको उक्त विमानमा सवार कुल २४२ जनामध्ये १ जना मात्र जिवित रहेको एयर इन्डियाले जनाएको छ। एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका बेलायती नागरिक हुन् ।
विहीबार भारतीय समय अनुसार दिउँसो २ बजेर ३८ मिनेटमा गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।
घटनास्थलको अवलोकन गरेपछि भारतीय गृहमन्त्री अमित शाहले विमानमा रहेका २३० जना यात्रु र चालकदलका १२ जना गरी कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् । गृहमन्त्री शाहले लगभग सबैको शव संकलनको काम सकिएको र शवहरुको डीएनए परीक्षण गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् । यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
टाटा कम्पनीले मृतकको परिवारलाई १ करोड दिने
टाटा कम्पनीको स्वामित्वमा रहेको उक्त विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने टाटा कम्पनीले जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर समेत पुनःनिर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।
विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति बेलायत, अमेरिका, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारले शोक व्यक्त गरेका छन् ।

