काठमाडौं, २९ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा अख्तियारको टोलीले उनलाई बिहीबार साँझ अनामनगरबाट पक्राउ गरेको हो।

जसपाका सांसद सिंह प्रदेशको पूर्वगृहराज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन्। उनी महोत्तरीको क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित भएका थिए।

यसअघि गत १२ गते आयोगले उनका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई पनि नियन्त्रणमा लिएर सो विषयमा अनुसन्धान गरेको थियो। कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको प्रमाण भेटिएपछि आयोगले सिंहलाई पक्राउ गरेको हो ।

कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गरी उनले बैंक खातामै कमिसन बुझ्दै आएका थिए। अख्तियारले सांसद् सिंहको साथमा रहेको विद्युतीय उपकरणसमेत कब्जामा लिएर थप अनुसन्धान गरिहेको छ।

प्रतिक्रिया