काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र समस्या र समाधानबारे अध्ययन गरी सुझाव पेश गर्ने कार्यादेश दिएर डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको हो ।
उपसमितिमा संयोजक कार्कीसहित नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन् ।
राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एक महिनाभित्रमा सुझाव पेश गर्ने गरी उपसमिति गठन गरेको हो। हाल बैंकहरुमा लगानी योग्य रकम बढ्दै गइरहेको छ भने लगानी अपेक्षाकृत रुपमा बढ्न सकेको छैन। वित्तीय गतिविधि सुस्त भइरहँदा समग्रमा अर्थतन्त्र स्थिर छ। यस्तो परिस्थितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्न पनि सहयोग हुने गरी सुझाव प्राप्त हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ।

