काठमाडौं, २८ जेठ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलाको अन्तिम खेलमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेकाे हाे ।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । नेपाललाई आफ्नो इनिङमा १० रन घाटा लागेको थियो। मध्यक्रमका ब्याट्सम्यान बसिर अहमद नियम विपरित पिचमा दौडिएको भन्दै अम्पायरले दुई पटक गरी ५–५ रन सजाय गरेका थिए ।
यो श्रृङखलामा नेपालले ४ खेलमध्ये ३ खेलमा जित निकालेको छ । नेपालले नेदरल्याण्ड्ससँग दुबै खेलमा
जित निकालेको हो भने स्कटल्याण्डसँगको पहिलो खेल जितेको नेपाल आइतबारको खेलमा कीर्तिमानी जितबाट चुकेको थियो । यस शृंखलामा नेदरल्याण्ड्सले नेपाल र स्कटल्याण्डसँग खेलेको ४ वटै खेलमा हार व्यहोरेर जितबिहिन बन्यो ।
श्रृंखलाको अन्त्यसँगै लिग २ को अंकतालिकामा नेदरल्याण्ड्स २३ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्याण्ड १९ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा छ। यता नेपाल यही श्रृंखलामा ३ जितसँगै ६ अंक थप गर्दै १६ खेलमा १२ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

