काठमाडौं, २७ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

स्कटल्याण्डमा जारी एकदिवसीय शृंखलाको सुरुवाती २ खेल जितेको नेपाल तेस्रो खेलमा पराजित भएको थियो । नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको पहिलो २ खेलमा जित निकालेको थियो भने स्कटल्याण्डसँगको आइतबारको खेलमा कीर्तिमानी जितबाट चुकेको थियो । यस शृंखलामा नेदरल्याण्ड्सले नेपाल र स्कटल्याण्डसँग खेलेको दुबै खेलमा हार व्यहोरेर जितबिहिन छ ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म ६ एकदिवसीय खेल भएकामा दुवैले ३–३ खेल जितेका छन् । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

लिग २ को अंकतालिकामा नेदरल्याण्ड्स २२ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया