काठमाडौं, २२ जेठ । पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हदबन्दीभन्दा बढीको जग्गा खरिदविक्री गर्न अनुमति दिएर सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने बिगो रकम फरक–फरक छ ।

मुद्दा दायर हुनेमा को–को छन् ?
अख्तियारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँगै तत्कालिन मन्त्री, मुख्य सचिव, सचिव, सहसचिव, उपसचिव लगायतका कर्मचारीहरुसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । त्यसैगरी तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ ।

तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशी, तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध मुद्दा दायर भएको छ ।

तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की र तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइरालाविरुद्ध मुद्दा दायर गरिएको छ ।

यसैगरी तुलामणि राजभण्डारी, कृष्णप्रसाद सापकोटा, खरिदार हरिप्रसाद हुमेगाईंविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यस्तै गुठी संस्थान काभ्रेका तत्कालीन कायम मुकायम प्रमुख कृष्णहरि भट्टराई, वरिष्ठ सहायक पवन आचार्य, फाँटवाला माधव प्रसाद होमागाईं विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी यशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, बरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागका सुनिलरत्न स्थापित र नायक महाप्रबन्धक बलराम विष्ट विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।

यसैगरी पतञ्जलि योगपिठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंह, भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंश, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्कीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया