काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार स्रोतले जानकारी दिएको हो ।
अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । हदबन्दीभन्दा बढीको जग्गा खरिदविक्री गर्न अनुमति दिएर सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अन्य प्रतिवादीहरुविरुद्ध पनि जरिवाना र सजाय मागदाबीसहित मुद्दा दायर गरिएको छ ।
यसअघि पतञ्जलि योगपीठको जग्गा अनियमितता प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसँग बयान पनि लिएको थियो । नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि र मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको यो पहिलोपटक हो ।
पतञ्जलीको हदबन्दी जग्गा प्रकरण
पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोक जिल्लामा जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि भन्दै २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भन्दै उक्त कम्पनीमार्फत सरकारसँग हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति मागेको थियो । उसको माग बमोजिम २०६६ साल माघ १८ गते माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो ।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन । कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर जग्गा किनेको केही महिनामा नै पतञ्जली योगपीठले जग्गा बेच्ने निर्णय ग¥यो र सरकारसँग जग्गा विक्री गर्न अनुमति माग्यो । २०६६ सालमै नेपाल नेतृत्वको तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो । छानबिनको क्रममा यस प्रकरणमा संलग्न विभिन्न व्यक्ति तथा निकायसँग बयान लिएको अख्तियारले बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

