काठमाडौं, ६ जेठ। आइसीसी महिला ट्वान्टी–२० विश्वकप छनौटमा नेपाल ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ। एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउँदै नेपाल ग्लोबल क्वालिफायरमा प्रवेश गरेको हो।

यूएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले जितमा कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् ।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाउँदा तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् । कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिइन् ।

लगातार दुई खेलमा हार भोगेको यूएई सुपर–३ बाट नै बाहिरिएको छ। सुपर–३ को पहिलो खेलमा यूएई थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया