काठमाडौं, ०३ बैशाख । सरकारले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।
संघीय विद्यालय शिक्षा ऐनको माग राखेर २ हप्तादेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूको मागलाई सम्बोधन गर्दै संसदमा विचाराधीन विधेयक पारित गर्न सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी दिइन् । बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागको यथोचित सम्बोधन गर्न संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको भन्दै यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री भट्टराईको भनाई छ ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी सम्पूर्ण शिक्षकलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको र अहिले विद्यार्थी भर्नाको समय र एसईईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेत सञ्चालन गर्नुपर्ने समय भएको हुँदा अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी विरोध प्रर्दशन रोकेर आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरिएको शिक्षा मन्त्री भट्टराईले बताइन्।

