काठमाडौं, ७ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा सञचालन हुने एसइई परिक्षामा यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । त्यसैगरी आज संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । चैत १९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा हलमा विद्यार्थीलाई मोबाइल र स्मार्टवाच लैजान निषेध गरिएको छ । अनुगमनका क्रममा यस्ता सामग्री भेटिए नियन्त्रणमा‌ लिइने र नियन्त्रणमा‌ लिइएका मोबाइल सामग्रीहरूको सम्बन्धमा शिक्षा ऐन २०२८ को दफा १७ (१ क) (च) मा परीक्षाको मर्यादा भंग हुने कुनै कार्य गरेमा दफा १७ (१ क) अनुसार कारबाही हुने परीक्षा बोर्डले जनाएको छ । यसै गरी दफा १७ (२) उपदफा १ र (१ क) लेखिएदेखि बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत तोकिएको अधिकारीले सजाय गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तै क्यालकुलेटर प्रयोग गर्नुपर्ने विषयहरूको परीक्षामा पनि साधारण क्यालकुलेटर मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै साइन्टिफिक क्यालकुलेटर प्रयोग गर्नै पर्ने अवस्था आएमा सञ्चित गरिएको सम्पूर्ण डाटा हटाएर मात्र प्रयोग गर्न पाइने भएको छ ।

प्रतिक्रिया