माघ ७, काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले कूल रू.१० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा नेपालले रू.७ खर्ब ९७ अर्ब ४८ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कूल रू. ९ खर्ब ३९ अर्ब २ करोड २८ लाखको वस्तु आयात हुँदा रू. १ खर्ब ४२ अर्ब १ करोड ८० लाख बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशत बढेको छ भने व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ प्रतिशत र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ।
वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदार भारतसँग पछिल्लो छ महिनामा रू. ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने रू.१ खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ। यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रू.४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ।
अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रू.१ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ। यस अवधिमा चीनबाट रू.१ खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा रू. ६४ करोड ९ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ।
नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन्।
त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ। पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रू. ९ करोड १५ लाखको आयात र रू. ५१ करोड २ लाखको निर्यात गर्दा रू. ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ। रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ।
यो अवधिमा वस्तु आयातबाट भन्सार राजस्व रू.२ खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार संकलन भएको विभागले जनाएको छ।
पेट्रोलियम आयात सबैभन्दा उच्च
यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ। चालु आवको पुस मसान्तसम्ममा रू. ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रू. ३३ अर्ब ७ करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रू. २७ अर्ब ४ करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ।
त्यसैगरी यो अवधिमा रू. २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रू. ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रू. १४ अर्ब ४ करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ।
त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रू. ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रहेको छ भने रू. ७ अर्ब १९ करोड ९५ लाखको अलैँची, रू. ४ अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रू. ३ अर्ब ११ करोडको कार्पेटलगायत छन्।

