असोज २६, काठमाडौं। आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो ।
दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि हारको नजिक पुगेको नेपालले रोमाञ्चक जित हात पारेको हो। ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा भने उनले जबरजस्त प्रदर्शन गरे । अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए ।
जाहिद अलीले पहिलो बलमा सिंगल लिएर पारासारलाई स्ट्राइक दिए । दोस्रो बल डट खेलेका पारासारले तेस्रो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेपछि यूएई १३८-६ रन बनाउँदै जितको निकै नजिक पुगेको थियो । चौथो बलमा दीपेन्द्रले पारासारलाई सन्दीप जोराबाट लङअनमा क्याचआउट गराए ।
पाँचौ बलमा दुई रन लिने चक्करमा रहेका यूएईका ब्याटर दोस्रो रन लिने क्रममा हैदर अली रनआउट भए । तर पहिलो बलमै शर्ट रहेपछि यूएईले १ रन पनि पाएन । यूएईले अब अन्तिम बलमा ३ रन जोड्नुपर्ने अवस्था आयो । यस्तोमा जुनैद सिद्दिकीले एक रन लिएपनि दोस्रो रन लिने क्रममा जाहिद अली पनि रनआउट भए ।
४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका दीपेन्द्रले एक रनआउट पनि गरे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए ।
सुपर सिक्समा यूएईलाई हराएपछि नेपालले घरेलु टोली ओमानसँग समान ४ अंक जोडेको छ र अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि एक खुड्किलो अगाडि बढाएको छ ।

