काठमाडौं, ७ असार। नेपाललाई ३४ रनले हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० शृंखलाको उपाधि जितेको छ । १९४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई १८.५ ओभरमा १५९ रनमा रोक्दै घरेलु टोली स्कटल्याण्डले उपाधि हात पारेको हो। नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अकं भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भए । उनले एक चौका र तीन छक्का प्रहार गरे । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ बल खेलेर एक चौका र एक छक्का प्रहार गर्दै ३४ रन बनाए । यस्तै कप्तान रोहित पौडेल २७ रन बनाएर पेभेलियन फर्किएका थिए ।ओपनर कुशल भुर्तेलले ४, आसिफ शेखले १४, भीम सार्कीले १२ र आरिफ शेखले ५ रन बनाए ।

स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले तीन विकेट लिए । सफायान सरिफले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लीस्कले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए । कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए ।

आयोजक स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय शृंखलामा नेपालले दुई खेल जितेको थियो। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो । समान २-२ खेल जितेको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अकं भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

प्रतिक्रिया