काठमाडौं, ५ असार। कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको जित हात पारेको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गत बिहीबार राति भएको खेलमा नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको हो ।

नेपालको जितमा शानदार प्रदर्शन गरेका ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए । त्यस्तै आरिफ शेखले पनि २३ बल खेल्दै ३ चौका र २ छक्कासहित ३९ रन बनाएर पेभिलियन फर्किए । रन लिने क्रममा दौडिँदा खुट्टामा समस्या देखिएपछि आरिफले मैदान छाड्नु परेको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ७ रन आवश्यक थियो। आरिफको सट्टा मैदानमा उत्रिएका लोकेश बमले पहिलो बलमै शानदार छक्का प्रहार गर्दै नेपालको लागि १७४ को बराबरी रन बनाए। त्यस पछि २ बल डट खेलेका बमले चौंथो बलमा अर्को छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे।

त्यसअघि आज टि२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र १ छक्का सहित २७ रन बनाएका थिए। कप्तान रोहित पौडेल भने ५ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले अविजित १६ रन बनाए।

यससँगै नेपालले शृंखलामा दोस्रो जित हात पार्दै ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने २ खेलमा जित र २ खेलमा हार बेहोरेको नेदरल्याण्डस् ४ अंक बटुलेर नेट रनरेटको आधारमा दोस्रो स्थानमा रह्यो।

अब शुक्रबार शृंखलाको अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिड्नेछन्। उक्त खेलको विजेताले उपाधि हात पार्नेछ।

प्रतिक्रिया