काठमाडौं, ४ असार। प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई यथाशीघ्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। समाचार प्रसारण गरेकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएका पाठकलाई साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सघाउन भनिएको छ।

उनीमाथि धरपकड नगर्न उच्च अदालत, पाटनले सोमबार मात्र अल्पकालीन अन्तरिम आदेश दिएको थियो। पक्राउ पुर्जीविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा अन्तरिम आदेशका लागि अदालतले ५ असारमा बोलाएको अवस्थामा मंगलबार साइबर ब्युरोले यथाशीघ उपस्थित हुन भनेर सार्वजनिक सूचना जारी गरेको हो।

पत्रकार पाठकले एक नेतापुत्रको लगानीको विषयमा समाचार प्रसारण गरेका थिए। सो समाचार तथ्यहीन भएको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा जाहेरी परेको थियो। पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

समाचारकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएकोमा सञ्चारसम्बद्ध संघसंस्था तथा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका छन्।

प्रतिक्रिया