काठमाडौं, ४ असार। स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० शृंखला अन्तर्गतको तेस्रो खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे । खेलको अन्तिम ओभरमा २ बल बाँकी रहँदा जितका लागि १ रन चाहिएको थियो। त्यहिबेला ब्याटिङमा आएका सन्दिप लामिछानेले विजयी १ रन लिएर नेपालको जित सुनिश्चित गरे।
यस खेलमा दुबै इनिङमा दुबै टोलीका बलर हावी भएका थिए। ग्लास्गोमा टस जितेर बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । अराउण्डर दीपेन्द्रसिंह ऐरीले २, करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए ।
स्कटल्याण्डको महत्वपूर्ण ४ विकेट लिएका सन्दिप लामिछाने यस खेलमा प्लेयर अफ दि म्याच घोषित भए।
यसअघि सोमबार भएको रोमाञ्चक खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको नेपालले मंगलबारको जितसँगै २ अङ्क जोडेको छ । १/१ खेल जितेका स्कटल्याण्ड र नेदरल्याण्डले पनि समान २/२ अङ्क जोडेका छन् ।
त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बिहीबार बेलुकी ७ः४५ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

