काठमाडौं, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ । आइतबार राती साढे ८ बजे सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार विनियोजन गरेको जानकारी दिएका हुन् ।
दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइए पनि बजेटको आकारलाई लिएर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद उत्पन्न भएपछि बैठक बस्न सकेन। कांग्रेस र एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत भएको थियो ।
अन्ततः बजेटको आकार घटाएर ६८ अर्बमै यथावत राखिएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो । लगत्तै प्रदेश सभा बैठक बसेर राती अबेर बजेट प्रस्तुत गरिएको हो ।

