काठमाडौं, २९ जेठ। भारतको अहमदाबादमा बिहिबार भएको २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकको भनाई उद्धृत गर्दै बिबिसी हिन्दीले २०४ जनाको शव भेटिएको समाचार लेखेको छ।

दुर्घटनामा एक जना यात्रुको जिवितै उद्धार गरिएको भारतीय समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकका अनुसार बोइङ ७८७–८ विमानको ११ए सिटमा बसेका यात्रुको जीवित उद्धार गरिएको थियो। भारत सरकारले सार्वजनिक गरेको यात्रु सूचीअनुसार ११ए सिटमा बसेका यात्रु बेलायती नागरिक विश्वासकुमार रमेश थिए। छाती, आँखा र खुट्टामा चोट लागेका उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

गुजरातको अहमदाबादबाट लन्डनका लागि दिउँसो १ः३८ बजे उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) टेक अफ गरेको केही बेरमै दुर्घटनामा परेको थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानडियन नागरिक साथै २ जना पाइलट र १० जना क्याविन क्रुका सदस्य सवार रहेका थिए।

 

प्रतिक्रिया