काठमाडौं, ६ जेठ। नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। उक्त सिफारिसको पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो। पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्।
सत्तारुढ कांग्रेस-एमालेको राजनीतिक दाउपेचका कारण लामो समय गभर्नर पद रिक्त बन्न पुग्यो। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।
सुरूमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने कुरा भएको थियो। तर भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री ओली र एमालेका कतिपय नेताहरू सहमत देखिएका थिएनन्।
त्यसपछि सभापति देउवाले गभर्नरमा अर्थविद् विश्वनाथ पौडेलको नाम प्रस्ताव गरेका थिए। त्यसमा पनि प्रधानमन्त्री ओलीले आनाकानी गरिरहेको जस्तो देखिएको थियो। तर यही विषयलाई लिएर सरकारको नेतृत्व परिवर्तनसम्मको हल्ला चलेपछि अन्ततः देउवाले सिफारिस गरेका पौडेललाई नै प्रधानमन्त्री ओलीले गभर्नरमा नियुक्त गरे।

