विराटनगर, १८ बैशाख। कोशी प्रदेश सरकारको दुई दिने प्रदेश लगानी सम्मेलन आजबाट शुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
आज र भोली शुक्रबार दुई दिन चल्ने पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले बताए।
लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।
सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

