काठमाडौं, १८ बैशाख। आगामी दुई दिनसम्म देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले शुक्रबारसम्म पानी पर्ने सम्भावना रहेको छ।
अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।

