काठमाडौं, १२ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले घिसिङलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
गत फागुन २३ गते मन्त्रिपरिषद्ले घिसिङलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले घिसिङलाई उनको कार्यकाल सकिनु भन्दा ४ महिना अगाडि नै पदबाट हटाउने निर्णय गरेको हो । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि तत्कालिन सरकारले घिसिङलाई नियुक्त गरेको थियो।
लोडसेडिङ अन्त्य गर्ने नायकको रूपमा जनतामाझ परिचित घिसिङसँग डेडिकेटेड ट्रंकलाइन सम्बन्धी विवाद बढ्दै गएपछि खासगरी ऊर्जा मन्त्री दिपक खड्का र घिसिङ बीच लामो समयदेखि रस्साकस्सी चल्दै आएको थियो।
घिसिङले पछिल्लो समय सरकारको निर्देशन नमानेको, सरकारको स्वीकृति नलिई भारतसँग विद्युत खरिदविक्रीको सम्झौता गरेको, तोकिएको समयमा कार्यसम्पादन मूल्यांकन प्रतिवेदन नबुझाएको लगायतका आरोप लगाउदै आएको थियो

